Posts

शाखा अधिकृत दोश्रो पत्र नमुना प्रश्न पत्र

Reinforce Nepal

लोक सेवा आयोग

राजपत्रांकित तृतीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको प्रतियोगितात्मक लिखित नमुना परीक्षा–२०८२

समय : ३ घण्टा
पूर्णाङ्क : १००
विषय : शासन प्रणाली (Governance Systems)
उत्तीर्णाङ्क : ४०

निम्न प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुहोस्, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ।


Section-A (30 Marks)

१. कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा व्यवस्थापनमा अन्य कुराका अतिरिक्त भू–राजनीतिक (Geo-political) अवस्थाको सन्दर्भलाई पनि ध्यान दिनुपर्छ भनिन्छ। नेपालको राष्ट्रिय सुरक्षामा भू–राजनीतिक अवस्थाको विश्लेषण गर्दै त्यसको प्रभावकारी व्यवस्थापन गर्न के–कस्ता नीति लिनुपर्छ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्। (४+६)

२. नेपालको संविधान बमोजिम कार्यपालिकाको गठन विधि उल्लेख गर्दै कार्यपालिकाको विधायिकी र वित्तीय भूमिकाबारे स्पष्ट गर्नुहोस्। (१०)

३. नेपालले किन संघीय शासन प्रणाली अवलम्बन गरेको हो? चर्चा गर्नुहोस्। नेपालमा संघीयताको कार्यान्वयनको अवस्था समीक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न के गर्नुपर्ला? विश्लेषणात्मक उत्तर लेख्नुहोस्। (२+४+४)


Section-B (20 Marks)

४. मौलिक हक (Fundamental Rights) र नागरिकको कर्तव्य (Duties) लाई कसरी बुझ्नुहुन्छ? यी दुवैलाई व्यवहारिक रूपमा कसरी अवलम्बन गर्न सकिन्छ? उदाहरण सहित व्याख्या गर्नुहोस्। (५+५)

५. “संवैधानवाद” का दृष्टिले नेपालको संविधानका सबल र दुर्बल पक्षहरूको विवेचना गर्नुहोस्। (१०)


Section-C (30 Marks)

६. सार्वजनिक प्रशासनले राजनीतिक रूपमा तटस्थ हुनुपर्ने कि प्रतिबद्ध? भन्ने विषयमा व्यापक बहस भएको पाइन्छ। यी दुई दृष्टिकोणलाई व्याख्या गर्दै नेपालको सार्वजनिक प्रशासनलाई आफ्नो कामप्रति प्रतिबद्ध र राजनीतिक रूपमा तटस्थ बनाउन के कस्ता उपाय अवलम्बन गर्नुपर्ला? सुझाव दिनुहोस्। (४+६)

७. सार्वजनिक कोष (Public Funds) भनेको के हो? उदाहरण सहित प्रस्तुत गर्नुहोस्। यस्ता कोषको उपयोग र परिचालन कसरी गरिन्छ? लेख्नुहोस्। (४+६)

८. सार्वजनिक निकायहरूले प्रदान गर्ने सेवा प्रवाहमा नागरिक बडापत्रको आवश्यकताको चर्चा गर्दै नागरिक बडापत्रसँगै सेवाग्राहीलाई सेवा प्रवाह बारे सूचित गराउने नवीन प्रविधि र प्रक्रिया के हुन सक्छन्? लेख्नुहोस्। यसबाट सेवाग्राहीको समय, लागत र सम्पर्क बिन्दु कसरी कम हुन्छ? सो विषयमा आफ्नो राय दिनुहोस्। (४+३+३)


Section-D (20 Marks)

९. नेपालमा विकास आयोजनाहरू निर्धारित समय र लागतमा सम्पन्न हुन नसक्नुका कुन कुन कारणहरू हुन सक्छन्? व्याख्या गर्नुहोस्। (१०)

१०. सार्वजनिक वित्त व्यवस्थापनका प्रमुख अवयवहरूको बारेमा संक्षेपमा प्रकाश पार्नुहोस्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार बजेट प्रस्ताव र छलफलको समयमा पेश गर्नुपर्ने प्रमुख कागजातहरूको बारेमा संक्षेपमा वर्णन गर्नुहोस्। (४+६)


◊◊◊ समाप्त ◊◊◊



Post a Comment